लन्डन । बेलायती लेखक एम. जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’ का लागि यस वर्षको प्रतिष्ठित बुकर पुरस्कार जितेका छन्। ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कार प्राप्त गर्ने अहिलेसम्मकै सबैभन्दा पाका लेखक बनेका छन्।
सोमबार लन्डनमा आयोजित विशेष समारोहमा उनलाई ५० हजार पाउन्ड नगद पुरस्कार प्रदान गरिएको हो। करिब ६ दशकदेखि साहित्यिक लेखनमा सक्रिय ह्यारिसनका आफ्नै पाठक तथा प्रशंसकहरूको विशेष समूह रहेको छ।
पुरस्कार जित्न सफल उनको उपन्यास रहस्यमय विपत्तिपछि पूर्ण रूपमा परिवर्तन भएको बेलायती समाजको कथामा आधारित छ। उपन्यासले पाठक तथा साहित्यिक समीक्षकबीच मिश्रित प्रतिक्रिया पाएको छ। केही समीक्षकले यसलाई उदास भाव बोकेको भए पनि उत्कृष्ट, सपनाजस्तो र जटिल साहित्यिक कृतिका रूपमा व्याख्या गरेका छन्।
पुरस्कार निर्णायक समितिकी अध्यक्ष डेम मेरी बियर्डले उपन्यास पढ्न चुनौतीपूर्ण भए पनि उत्कृष्ट साहित्यको उदाहरण भएको बताएकी छन्। उनका अनुसार पुस्तकले पाठकलाई सोच्ने नयाँ दृष्टिकोण प्रदान गर्नुका साथै गम्भीर विषयवस्तुका बीच पनि आशाको किरण देखाएको छ।
बुकर पुरस्कारलाई विश्व साहित्य क्षेत्रको प्रतिष्ठित पुरस्कारमध्ये एक मानिन्छ। यस वर्षको पुरस्कारसँगै ह्यारिसनले आफ्नो लामो साहित्यिक यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेका छन्।