पोखरा । दसैँलाई लक्षित गर्दै पोखरामा भेडाच्याङ्ग्राको बिक्री सुरु भएको छ। यस वर्ष मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट गरी १४ हजार ८०० भेडाच्याङ्ग्रा पोखरा भित्रिएका छन्। बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानी र वडा नं. २५ हेमजामा हाटबजार सञ्चालनमा ल्याइएको छ।
पोखरा महानगरपालिकाको पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार हालसम्म मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक–एक हजार भेडाच्याङ्ग्रा ल्याइएको छ। बाटोमा रहेका थप भेडाच्याङ्ग्रा फूलपातीभन्दा एक–दुई दिनअघि बजारमा आइपुग्ने अपेक्षा गरिएको छ।
गण्डकी प्रदेशका अन्य जिल्लाबाट पनि स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिएको छ। केही व्यापारीले हाटबजारमै भेडाच्याङ्ग्रा बिक्री गरिरहेका छन् भने केहीले पोखराआसपासका चरन क्षेत्रमा राखेका छन्।
च्याङ्ग्रा प्रतिकेजी १ हजार २५० रुपैयाँसम्म
महानगरपालिकाको पशु सेवा शाखाका अनुसार पोखराको हाटबजारमा च्याङ्ग्रा प्रतिकेजी अधिकतम एक हजार २५० रुपैयाँ र भेडा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको छ। हिमाली क्षेत्रको चिसो हावापानीमा हुर्किएका च्याङ्ग्राको मासु दसैँमा पोखरा र आसपासका क्षेत्रमा विशेष माग हुने गरेको छ।
पोखरामा च्याङ्ग्रासँगै सुर्खेत, अर्घाखाँची, दाङ, पाल्पा र तनहुँलगायत जिल्लाबाट खसीबोका पनि ल्याएर बिक्री गरिन्छ।
पशुको स्वास्थ्य परीक्षण र अनुगमनमा जोड
दसैँका लागि ठूलो संख्यामा पशु भित्रिएसँगै सम्बन्धित निकायले तिनको स्वास्थ्य अवस्था र रोगको जोखिमबारे अनुगमन थालेका छन्। पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालय पोखराको संयुक्त टोलीले भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण तथा बिक्री वितरणको अनुगमन गरिरहेको छ।
अनुगमनका क्रममा अधिकांश भेडाच्याङ्ग्रा स्वस्थ पाइएको जनाइएको छ। फूलपातीसम्म अनुगमन जारी रहनेछ। व्यापारीले सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयबाट स्वास्थ्य परीक्षण गराई प्रमाणपत्र लिएपछि मात्रै पशु ढुवानी गर्नुपर्ने व्यवस्था छ। बिरामी पशु भेटिएमा अन्य पशुबाट अलग राख्न आइसोलेसनको व्यवस्था गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. ग्रिष्म न्यौपानेले चाडपर्वमा ठूलो संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था र रोगको जोखिमलाई ध्यानमा राखेर अनुगमन गरिएको बताए।
उनले भेडाच्याङ्ग्रा खरिद गर्दा स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै सामान्य श्वासप्रश्वास भएको, र्याल नबगाएको र रौँ चिल्लो भएको पशु छनोट गर्न सुझाव दिए। लामो समय पैदल हिँडाएर वा गाडीमा राखेर ल्याइएका भेडाच्याङ्ग्रालाई बध गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि घरमा ल्याएर आराम गराउनु उपयुक्त हुने उनको भनाइ छ।
ढुवानीमा कठिनाइ, बजारप्रति व्यापारीको गुनासो
मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट ११ दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याएको बताए। उनका अनुसार केही दूरी पैदल हिँडाएर र केही दूरी गाडीमा राखेर च्याङ्ग्रा ढुवानी गरिएको थियो।
यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षको तुलनामा बढी कठिनाइ भएको उनले बताए। “यसपटक कहिले पानीले सतायो, कहिले बाढीले समस्या भयो। पहिले बजार राम्रो थियो, अहिले बजार पनि राम्रो छैन,” उनले भने।
देवकोटाका अनुसार बाटोमा विभिन्न स्थानीय तह तथा पशु सेवा कार्यालयमा तिर्नुपर्ने शुल्क र चरन क्षेत्रमा लाग्ने खर्चले च्याङ्ग्राको लागत बढाउने गरेको छ। ढुवानीमा हुने कठिनाइ र अतिरिक्त खर्चले बजारमा च्याङ्ग्राको मूल्य महँगो पर्न जाने व्यापारीहरूको भनाइ छ।
दसैँ नजिकिँदै जाँदा पोखराका हाटबजारमा भेडाच्याङ्ग्राको कारोबार थप बढ्ने अपेक्षा गरिएको छ। उपभोक्ताले खरिद गर्दा मूल्यसँगै पशुको स्वास्थ्य अवस्था र स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रमा समेत ध्यान दिनुपर्ने देखिन्छ।