Michael,
काठमाडौं । सवारी साधनको दर्ता तथा नामसारी प्रक्रियालाई सहज र सरल बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्थाले सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यतालाई हटाउँदै सेवा प्रवाहलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार अब सवारी साधनको दर्ता तथा नामसारीका लागि सवारीधनीको प्रत्यक्ष उपस्थिति अनिवार्य हुने छैन। साथै, डिलरबाट जाँच भइसकेका सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन। डिलरबाट गरिएको जाँचलाई नै अन्तिम मान्यता दिने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको प्रतिनिधिमार्फत पनि सवारी दर्ता तथा नामसारी गर्न सक्नेछन्। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, सवारी खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्नेछ।
संशोधनबाट सवारी दर्ता, नामसारी, बीमा तथा नवीकरणसम्बन्धी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउनुका साथै अनावश्यक प्रशासनिक झन्झट घट्ने अपेक्षा गरिएको छ।