माईकल,
बागलुङ । बाढीले क्षति पुर्याएपछि १६ दिनदेखि बन्द रहेको बागलुङ–पर्वत जोड्ने मालढुङ्गास्थित कालीगण्डकी पुल सोमबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै बागलुङबाट पश्चिम क्षेत्रतर्फ हुने यातायात आवागमन सहज हुने भएको छ।
कालीगण्डकी नदीमा आएको बाढीले पुलको पर्वततर्फको एप्रोच सडक कटान गरेपछि गत असोज ११ गतेदेखि पुलमा आवागमन बन्द भएको थियो। पुलको मुख्य संरचनामा भने क्षति पुगेको थिएन। बाढीले पुल जोड्ने सडक र आसपासको भाग कटान गरेपछि यातायात सञ्चालनमा समस्या उत्पन्न भएको थियो।
पुल बन्द हुँदा बागलुङबाट पश्चिम क्षेत्रतर्फ जाने यात्रु, बिरामी, व्यवसायी तथा ढुवानी सेवामा निर्भर नागरिकले सास्ती खेप्नुपरेको थियो। यातायात अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी, व्यापार व्यवसाय र पर्यटन गतिविधिमा समेत असर परेको थियो।
दशैंअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित अघि बढाइएको मर्मतसम्भार कार्य सम्पन्न भएपछि सोमबार बिहानदेखि यातायात पुनः सञ्चालन गरिएको हो।
मालढुङ्गा पुल बागलुङलाई पर्वत हुँदै पश्चिम क्षेत्रका विभिन्न जिल्लासँग जोड्ने महत्वपूर्ण मार्गमा पर्दछ। पुल सञ्चालनमा आएसँगै रुकुम, रोल्पालगायत पश्चिम क्षेत्रतर्फको यात्रा तथा सामान ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ।
तस्बिर : रोशन पौडेल